काठमाडौँः साताको चौथो कारोबार दिन बिहिबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज परिसूचक नेप्से ८.८१ अंकले बढेर २ हजार ६५१.२१ विन्दुमा बन्द भएको हो।
त्यस्तै, नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ३ अर्ब ५३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ३ अर्ब ७२ करोड ४७ लाख ७० हजार रुपैयाँबराबरको १ करोड २ लाख २५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
यसदिन १७० कम्पनीको सेयर मूल्य बढेको छ भने ८७ कम्पनीको सेयर मूल्य घटेको छ । साथै, १९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
यस दिन सर्वोत्तम पेन्ट्सको शेयर सकारात्मक सर्किट लागेको छ। कारोबारमा आएको इमर्जिङ्ग नेपालको शेयरमूल्य ५.११ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २९ करोड ९८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।


