काठमाडौँः साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला २ कारोबार दिनदेखि निरन्तर ओरालो लागेको नेप्सेले मंगलबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
मंगलबार नेप्से परिसूचक १९.३४ अंकले घटेर २ हजार ६२२.४८ विन्दुमा झरेको छ।
नेप्सेसँगै मंगलबार कारोबार रकममा पनि गिरावट आएको छ। सोमबार ५ अर्ब ५२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा मंगलबार ५ अर्ब ७ करोड ३५ लाख १८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।
यस दिन कुल १ करोड ५१ लाख ९६ हजार कित्ता सेयर कारोबार भएको छ। आज सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
यता, कारोबारमा आएको सगरमाथा जलविद्युत कम्पनीको सेयरमूल्य मंगलबार सबैभन्दा धेरै घटेको छ। कम्पनीका सेयरमूल्य १०.६३ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा मंगलबार एग्रिकल्चरल बन्ड ९ वर्ष शीर्ष स्थानमा रहेको छ। उक्त बन्डको ५० करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।


