काठमाडौँ: स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले आगामी भदौ २७ गते बोलाएको सातौं वार्षिक साधारणसभामा हकप्रद सेयर निष्काशनसम्बन्धी प्रस्ताव पेस गर्ने भएको हो।
कम्पनीले नेपाल राष्ट्र बैंकबाट आवश्यक स्वीकृति प्राप्त गरेपछि २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव साधारणसभामा लैजाने भएको छ। हकप्रद निष्काशनमार्फत कम्पनीको चुक्ता पूँजी वृद्धि गर्ने योजना रहेको छ।
यसैगरी, कम्पनीले अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने प्रस्तावसमेत साधारणसभामा पेस गर्नेछ। मर्जर वा प्राप्तिका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाउने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव सभामा राखिने भएको छ।
साधारणसभामा सर्वसाधारण सेयरधनीको तर्फबाट एक महिलासहित दुई जना सञ्चालक निर्वाचन गर्ने प्रस्तावसमेत रहेको छ। सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्ने, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावमा निर्णय गर्नेछ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले भदौ ११ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ। बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म कायम सेयरधनीले साधारणसभामा सहभागिता जनाउन तथा मतदान गर्न पाउनेछन्।







