काठमाडौँः नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले बिहीबार राष्ट्र बैंकका गभर्नर प्रा.डा.विश्वनाथ पौडेलसमक्ष शपथ लिएका हुन्।
शपथ ग्रहणपछि रावलले बिहीबार नै डेपुटी गभर्नरका रूपमा पदबहाली गरेका छन्। मन्त्रिपरिषद्को भदौ ३ गतेको निर्णयअनुसार रावललाई डेपुटी गभर्नरमा नियुक्त गरिएको हो।
शपथ ग्रहण समारोहमा गभर्नर पौडेलले रावललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।
रावलले नेपाल राष्ट्र बैंकको सेवामा २०६२ माघ २ गते सहायक निर्देशकका रूपमा प्रवेश गरेका थिए। त्यसपछि २०६९ सालमा उपनिर्देशक, २०७५ सालमा निर्देशक हुँदै २०८२ जेठ १९ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका थिए।
कार्यकारी निर्देशकमा पदोन्नति भएपछि उनले राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागको नेतृत्व गर्दै आएका थिए। लामो समय राष्ट्र बैंकमा रहेर बैंक तथा वित्तीय क्षेत्रको सुपरिवेक्षणसम्बन्धी जिम्मेवारी सम्हालेका रावल अब डेपुटी गभर्नरको भूमिकामा पुगेका हुन्।


