काठमाडौँः नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न ९० अर्ब रुपैयाँको ११९ दिन अवधिको निक्षेप संकलन गर्ने भएको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले भदौ १० गते ११९ दिन अवधिका लागि निक्षेप संकलन गर्न बोलकबोल आह्वान गरेको हो। सूचना अनुसार बोलकबोल आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत मात्रै गर्न सकिनेछ।
राष्ट्र बैंकका अनुसार निक्षेपको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ। निक्षेपको साँवा तथा ब्याज रकम एकैपटक आगामी पुस ८ गते भुक्तानी गरिनेछ।
बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले मात्रै सहभागिता जनाउन पाउनेछन्। न्यूनतम १० करोड रुपैयाँ र त्यसपछि १० करोड रुपैयाँकै गुणकमा अधिकतम आह्वान गरिएको रकमसम्म बोल लगाउन सकिने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोललाई पहिलो प्राथमिकतामा राखी रकम बाँडफाँट गर्ने जनाएको छ। एउटै ब्याजदरमा माग गरिएको रकम आह्वान रकमभन्दा बढी भएमा ‘प्रो–राटा’ आधारमा बाँडफाँट गरिनेछ।
यसअघि पनि राष्ट्र बैंकले बैंकिङ प्रणालीमा बढेको तरलता व्यवस्थापन गर्न विभिन्न अवधिका निक्षेप संकलन उपकरणमार्फत रकम तान्दै आएको छ।