काठमाडौँ: भोटेकोशी नदीमा आएको आकस्मिक भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले दुःख व्यक्त गरेको छ।

बाढीका कारण मानव बस्ती, जलविद्युत आयोजना, सडक, पुल तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको इप्पानले जनाएको छ। बाढीबाट प्रभावित तथा बेपत्ता नागरिक, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र जलविद्युत आयोजनामा कार्यरत कामदारको उद्धार कार्य जारी रहेको भन्दै इप्पानले उद्धार तथा राहतमा खटिएका नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय तह तथा सामाजिक संघसंस्थाप्रति धन्यवाद व्यक्त गरेको छ।

इप्पानका अनुसार प्रारम्भिक विवरणमा त्रिशूली तथा भोटेकोशी नदी बेसिनमा सञ्चालनमा रहेका र निर्माणाधीन दर्जनौँ जलविद्युत आयोजनामा क्षति पुगेको छ। नदी किनार तथा बाढी प्रभावित क्षेत्रमा रहेका आयोजनाका बाँध, हेडवक्र्स, पावरहाउस, पहुँचमार्ग, प्रसारण संरचना, निर्माण सामग्रीलगायत भौतिक संरचनामा गम्भीर क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

प्रारम्भिक विवरणअनुसार रसुवा जिल्लामा सञ्चालनमा रहेका करिब २३६ मेगावाट क्षमताका पाँच जलविद्युत आयोजना तथा निर्माणाधीन करिब ३४२.४२ मेगावाट क्षमताका तीन आयोजनामा क्षति पुगेको अनुमान गरिएको छ। यस्तै, नुवाकोटमा सञ्चालनमा रहेका करिब १२३ मेगावाट क्षमताका चार आयोजना तथा निर्माणाधीन करिब ५२.६ मेगावाट क्षमताका दुई आयोजनामा समेत क्षति पुगेको इप्पानले जनाएको छ।

विशेषगरी माथिल्लो त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा पुगेको क्षतिका कारण भौतिक संरचनामा प्रत्यक्ष ठूलो क्षति नपुगेका कतिपय जलविद्युत आयोजना समेत राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएका छन्।

इप्पानले बाढी प्रभावित क्षेत्रमा फसेका तथा कार्यरत सम्पूर्ण कामदार, कर्मचारी र प्राविधिकको तत्काल खोजी, उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरणलाई पहिलो प्राथमिकता दिन सरकार, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय प्रशासन तथा सम्बन्धित सुरक्षा निकायलाई आग्रह गरेको छ।

त्यसैगरी प्रभावित जलविद्युत आयोजनाका प्रवद्र्धक कम्पनी तथा निजी क्षेत्रका ऊर्जा उद्यमीलाई आफ्ना स्रोत, जनशक्ति, उपकरण तथा साधनसहित उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा परिचालन हुन इप्पानले अनुरोध गरेको छ।

इप्पानले निजी क्षेत्रका छाता संगठन, संघसंस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, निर्माण व्यवसायी, ऊर्जा क्षेत्रका कम्पनी तथा अन्य व्यावसायिक प्रतिष्ठानलाई समेत बाढी प्रभावित नागरिक र जलविद्युत आयोजनाको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्न आग्रह गरेको छ।

बाढीबाट क्षतिग्रस्त जलविद्युत आयोजना तथा प्रसारण संरचनाको शीघ्र क्षति मूल्यांकन, पुनर्निर्माण र विद्युत प्रणालीमा पुनःजडानको कामलाई राष्ट्रिय प्राथमिकता दिन सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, विद्युत् विकास विभागलगायत सम्बन्धित निकायलाई इप्पानले आग्रह गरेको छ।

क्षतिग्रस्त आयोजनाको पुनर्निर्माणका लागि आवश्यक नीतिगत सहजीकरण, वित्तीय तथा प्राविधिक सहयोग, बीमा दाबी प्रक्रियामा सहजीकरण तथा प्रसारण पूर्वाधारको शीघ्र पुनर्निर्माण गर्नसमेत इप्पानले माग गरेको छ।

इप्पानले बाढीबाट प्रभावित जलविद्युत आयोजनाको क्षतिको विस्तृत विवरण संकलन तथा अभिलेखीकरण गर्ने जनाएको छ। तत्कालीन उद्धारदेखि दीर्घकालीन पुनर्निर्माणसम्म सरकार, सुरक्षा निकाय, निजी क्षेत्र, स्थानीय समुदाय तथा अन्य सरोकारवालाबीच प्रभावकारी समन्वय आवश्यक रहेको इप्पानको भनाइ छ।

इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्। उनले बेपत्ता नागरिक तथा कामदारको शीघ्र सकुशल उद्धार र घाइते तथा प्रभावितको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।