काठमाडौँ: प्रधानमन्त्री कार्यालयले रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि बिहीबार बिहानैदेखि तटीय क्षेत्र तथा प्रभावित इलाकाहरूमा खोजी, उद्धार र राहत कार्यलाई सरकारले थप तीव्रता दिएको जनाएको छ।
जोखिममा परेका नागरिकहरूको सहायताका लागि नेपाली सेनाले हिजो राति नै आवश्यक खाद्यसामग्री, टेन्ट र औषधिजस्ता राहत सामग्रीहरू प्रभावित क्षेत्रमा पुर्याइसकेको जानकारी कार्यालयले दिएको छ।
‘उद्धार तथा खोजी कार्यमा सुरक्षा निकायका साथै निजी क्षेत्रको पनि महत्त्वपूर्ण सहयोग र सहकार्य रहेको छ। हिजो बाढी आउनासाथ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसहित सेना र निजी क्षेत्रका हेलिकोप्टरहरू परिचालन गरी उद्धार कार्य सुरु गरिएको थियो। सेनाको टोलीले रातभरि जमिनी (स्थल मार्गबाट) उद्धार कार्यलाई निरन्तर जारी राखेको थियो,’ प्रधानमन्त्री कार्यालयले भनेको छ।
बिहीबार बिहानैदेखि टिमुरे, स्याफ्रुबेँसी र नदी तटीय क्षेत्रहरूमा नेपाली सेना र निजी क्षेत्रका हेलिकोप्टरका साथै पैदल टोलीलाई अझ सक्रिय बनाएर फसेकाहरूको उद्धार तथा बेपत्ताहरूको खोजी कार्य तीव्र पारिएको बताइएको छ।
सम्पूर्ण संयन्त्रलाई राहत र उद्धारमा केन्द्रित गरेको भन्दै सरकारले नदी किनाराका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।