काठमाडौँः भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि ग्लोबल आइएमई बैंक लिमिटेडले ५ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।
बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने जनाएको छ। बाढी प्रभावित क्षेत्रमा तत्काल राहत पुर्याउन तथा दीर्घकालीन पुनःस्थापनामा सहयोग गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गर्ने निर्णय गरिएको बैंकले जनाएको छ।
बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैंकले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। साथै, बेपत्ता नागरिकको खोजी, घाइतेको उपचार तथा प्रभावित परिवारलाई खाद्यान्न र अस्थायी बासस्थानको व्यवस्था गर्न सहयोग पुग्ने अपेक्षा गरिएको जनाएको छ।
बैंकका अनुसार सहयोग रकमले उद्धार र राहतका तत्कालीन कार्यसँगै बाढीबाट क्षतिग्रस्त संरचनाको दीर्घकालीन पुनर्निर्माण तथा प्रभावित समुदायको पुनःस्थापनामा समेत सहयोग पुग्नेछ।
ग्लोबल आइएमई बैंकले राष्ट्रिय संकट र विपद्को समयमा सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न किसिमका सहयोग गर्दै आएको जनाएको छ। यसअघि पनि देशका विभिन्न क्षेत्रमा आएका बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीका समयमा बैंकले आर्थिक, भौतिक तथा मानवीय सहायता उपलब्ध गराउँदै आएको थियो।