काठमाडौँ: नेपाल बैंकर्स संघले हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सरकार र सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।
संघले प्रेस विज्ञप्ति जारी गर्दै बाढी तथा प्राकृतिक विपद्का कारण भएको मानवीय, भौतिक तथा आर्थिक क्षतिप्रति दुःख व्यक्त गर्दै राहत, उद्धार र पुनःस्थापनाका कार्यमा बैंकिङ क्षेत्रले सक्दो सहयोग गर्ने जनाएको हो।
बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति संघले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। साथै, प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको जनाएको छ।
संघका अनुसार बाढी प्रभावित जिल्लामा कार्यरत बैंक कर्मचारी सुरक्षित रहेको जानकारी प्राप्त भएको छ। यद्यपि, बाढी तथा डुबानका कारण केही बैंक शाखा प्रभावित भएका छन् भने विद्युत्, इन्टरनेट तथा सञ्चार सेवामा आएको अवरोधले नियमित बैंकिङ सेवा सञ्चालनमा समेत चुनौती थपिएको छ।
यस्तो अवस्थामा बैंकहरूले उपलब्ध स्रोत तथा साधनको अधिकतम प्रयोग गर्दै वैकल्पिक व्यवस्थामार्फत बैंकिङ सेवाको निरन्तरता कायम राख्ने प्रयास गरिरहेका छन्। प्रभावित सेवाग्राहीलाई आवश्यक बैंकिङ सेवा उपलब्ध गराउन सदस्य बैंकहरूलाई आवश्यक समन्वय र सहजीकरण भइरहेको संघले जनाएको छ।
नेपाल बैंकर्स संघले विपद्को यस कठिन घडीमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा सम्बन्धित सरोकारवाला निकायसँग सहकार्य गर्दै राहत, उद्धार, सेवा निरन्तरता तथा पुनःस्थापनाका प्रयासमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रभावित बैंक कर्मचारी, उनीहरूका परिवार तथा आम नागरिकलाई आवश्यक सहयोग पुर्याउन बैंकिङ क्षेत्र तयार रहेको उल्लेख गर्दै संघले सरकारसँगको सहकार्यमा आफ्ना सदस्य बैंकमार्फत आवश्यक सहयोग तथा सहजीकरणका लागि समन्वय जारी राख्ने जनाएको छ।