काठमाडौँः नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल राष्ट्र बैंकले हालै रसुवा लगायतका जिल्लामा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।
संघले विपद्का कारण भएको मानवीय क्षति, जनधन तथा भौतिक संरचनामा पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।
संघका अनुसार बाढी तथा डुबानबाट प्रभावित जिल्लाका नागरिकको खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन, पीडितलाई खाद्यान्न, स्वास्थ्य सेवा तथा अन्य मानवीय सहायता उपलब्ध गराउन र प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि राज्यका सम्पूर्ण संयन्त्रलाई शीघ्र परिचालन गर्न सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरिएको छ।
प्रधानमन्त्रीको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकबाट उद्धार, राहत तथा प्रभावकारी समन्वयका लागि आवश्यक संयन्त्र परिचालन गर्ने निर्णयलाई संघले सकारात्मक रूपमा लिएको जनाएको छ।
विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि संघले रु. १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ।
संघले उक्त सहयोग प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, विपद्को घडीमा आफ्ना सदस्य, सम्बन्धित संघ–संस्था तथा आम नागरिकसँग आवश्यक सहयोग र सहकार्यका लागि तयार रहेको जनाएको छ।
संघले प्राकृतिक विपद्प्रति ज्यान गुमाउने सम्पूर्ण मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। घरबारविहीन तथा विस्थापित नागरिकको खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी र तीव्र बनाउन पनि संघले सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ।