काठमाडौँः बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित व्यक्ति, व्यवसाय तथा परियोजनाको राहत, पुनर्स्थापना र आर्थिक पुनरुत्थानका लागि सरकार, नेपाल राष्ट्र बैंक तथा सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।
सिबिफिनले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित ऋणी, व्यवसाय तथा परियोजनाको वास्तविक क्षतिको मूल्याङ्कन गरी आवश्यकताअनुसार कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचना, किस्ता र ब्याज भुक्तानीमा सहजीकरण तथा व्यवसाय पुनःसञ्चालन र पुनर्निर्माणका लागि आवश्यक सहयोग उपलब्ध गराउन पहल गर्ने जनाएको हो।
परिसंघले भाद्र १० गते भोटेकोशी नदीमा अकस्मात् आएको बाढीबाट भएको जनधनको क्षतिले आफूहरू मर्माहत भएको जनाएको छ। घटनामा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना पनि व्यक्त गरेको छ।
सिबिफिनले बेपत्ता नागरिक, सुरक्षाकर्मी तथा बैंक तथा वित्तीय संस्थाका कर्मचारीलगायत सबैको शीघ्र खोजी तथा उद्धारको अपेक्षा गरेको छ। साथै, उद्धार तथा राहत कार्यमा खटिएका सरकारी तथा गैरसरकारी निकाय, सुरक्षाकर्मी र व्यक्तिप्रति सम्मान व्यक्त गरेको छ।
बाढीबाट बैंक तथा वित्तीय संस्थाका शाखा तथा अन्य बैंकिङ पूर्वाधारसँगै मानव बस्ती, जलविद्युत् आयोजना, सडक, पुल, व्यापारिक प्रतिष्ठान तथा केरुङ नाकाबाट भित्रिएका मालवस्तु र सवारीसाधनमा समेत ठूलो क्षति पुगेको सिबिफिनले जनाएको छ।
प्रभावित क्षेत्रका जलविद्युत्, व्यापार, पर्यटन, पूर्वाधार तथा अन्य व्यावसायिक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको उल्लेख्य कर्जा तथा लगानी रहेकाले बाढीको असर ऋणी, व्यवसाय, बैंकिङ सेवा तथा समग्र आर्थिक गतिविधिमा समेत पर्न सक्ने परिसंघको भनाइ छ।
यस परिस्थितिमा प्रभावित क्षेत्रमा कर्मचारी र ग्राहकको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै बैंकिङ पहुँचलाई यथाशीघ्र सहज बनाउन सदस्य बैंक तथा वित्तीय संस्थाले वैकल्पिक सेवा प्रवाहसहित आवश्यक व्यवस्था गरिरहेको सिबिफिनले जनाएको छ।
परिसंघले वास्तविक रूपमा प्रभावित व्यक्ति, व्यवसाय तथा परियोजनाको क्षतिको यथार्थ मूल्याङ्कन गरी आवश्यक सहयोगका लागि आफ्ना सदस्य संस्थाका सञ्चालक समितिमार्फत समन्वय र सहजीकरण गर्ने जनाएको छ। यसका लागि नेपाल सरकार र नेपाल राष्ट्र बैंकसँग समेत समन्वय गरी आवश्यक नीतिगत तथा कार्यगत उपाय अवलम्बन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
राष्ट्रिय विपत्तिको सामना सामूहिक प्रयासबाट मात्र सम्भव हुने उल्लेख गर्दै सिबिफिनले उद्धार, राहत, पुनर्स्थापना तथा आर्थिक पुनरुत्थानका लागि सरकार, नेपाल राष्ट्र बैंक र सम्बन्धित निकायसँग हातेमालो गर्न सम्पूर्ण बैंक तथा वित्तीय क्षेत्र तयार र प्रतिबद्ध रहेको जनाएको छ।
सिबिफिनले प्रभावित परिवार, व्यवसाय तथा समुदायलाई यथाशीघ्र सामान्य अवस्थामा फर्काउन संघीय, प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्दै एकताबद्ध रूपमा परिचालित हुन सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई अपिलसमेत गरेको छ।