काठमाडौँः भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई ह्याम्स अस्पतालले निःशुल्क आपतकालीन स्वास्थ्य सेवा प्रदान गर्ने घोषणा गरेको छ।
अस्पतालले बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित नागरिकलाई आवश्यक आपतकालीन स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो।
ह्याम्स अस्पतालले विपद्बाट ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।
नेपाल सरकारसँगको समन्वयमा आवश्यक परेमा मेडिकल टिमसहित विपद् प्रभावित क्षेत्रमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल पूर्ण रूपमा तयारी अवस्थामा रहेको जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका क्रममा घाइते तथा स्वास्थ्य उपचार आवश्यक पर्ने नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालले आवश्यक जनशक्ति तथा स्वास्थ्य टोली तयारी अवस्थामा राखेको जनाएको छ।
आपतकालीन स्वास्थ्य सहायता आवश्यक परेमा ह्याम्स अस्पतालको विपद् व्यवस्थापन सम्पर्क नम्बर ९८०१९०४६४० मा सम्पर्क गर्न अस्पतालले अनुरोध गरेको छ।