काठमाडौँः साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। सोमबार नेप्से परिसूचक ४३.८९ अंकले घटेर २ हजार ५१३.४२ विन्दुमा झरेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ३ अर्ब ७८ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा सोमबार ३४७ कम्पनीका ९३ लाख २२ हजार कित्ता सेयर किनबेच भएका छन्।
६८ हजार १३७ पटक भएको कारोबारमा कुल ३ अर्ब ६४ करोड ८६ लाख ९ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।
यस दिन उपकार लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक १३.१६ प्रतिशतले बढेको छ भने रसुवागढी हाइड्रोपावर कम्पनीको सेयरमूल्य भने सर्वाधिक घटेको छ। कम्पनीको सेयरमूल्य साढे ११ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। कम्पनीको सोमबार २६ करोड ३८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।