काठमाडौँः गत भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि शिवम् सिमेन्ट लिमिटेड र यसको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडले राहत, पुनर्निर्माण तथा उद्धार कार्यमा सहयोग गर्ने घोषणा गरेका छन्।
रसुवा जिल्लासहित बाढी तथा पहिरो प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शिवम् सिमेन्टले प्रभावित परिवारको आवास पुनर्निर्माणका लागि ११ हजार बोरा सिमेन्ट निःशुल्क उपलब्ध गराउने जनाएको छ।
नेपाल सरकारसँगको समन्वयमा ११० घरधुरीको आवास पुनर्निर्माणका लागि प्रत्येक परिवारलाई १०० बोराका दरले कुल ११ हजार बोरा शिवम् ओपीसी सिमेन्ट उपलब्ध गराउने निर्णय गरिएको कम्पनीले जनाएको छ।
त्यस्तै, शिवम् सिमेन्टको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडले उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
उक्त रकम बाढी प्रभावित नागरिकको राहत, उद्धार तथा विपद्पछिको पुनर्निर्माण अभियानमा सहयोग पुग्ने कम्पनीको विश्वास छ।
शिवम् सिमेन्टले विपद्को यस कठिन घडीमा सरकार, स्थानीय तह तथा सम्बन्धित निकायसँग सहकार्य गर्दै प्रभावित नागरिकको जीवन पुनःस्थापना र पुनर्निर्माणमा निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।