काठमाडौँ: भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले नागरिक लगानी कोषले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।
कोषका सञ्चालक समितिका कार्यवाहक अध्यक्ष उत्तरकुमार खत्री र कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १ करोड १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
प्राकृतिक विपद्का कारण मानवीय तथा भौतिक क्षेत्रमा ठूलो क्षति पुगेको अवस्थामा सरकारको राहत, उद्धार तथा पुनःस्थापना अभियानमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम सहयोग गरिएको नागरिक लगानी कोषले जनाएको छ।
चेक हस्तान्तरण कार्यक्रममा कोष सञ्चालक समितिका सदस्य नारायणप्रसाद घिमिरे तथा निर्देशक शोभा श्रेष्ठको समेत उपस्थिति थियो।