काठमाडौँः भोटेकोशी र त्रिशुली नदी प्रणालीमा आएको विनाशकारी बाढीले नेपालको निर्जीवन बीमा क्षेत्रमा हालसम्मकै ठूलोमध्येको एक ‘वित्तीय झट्का’ दिएको छ। नेपाल बीमा प्राधिकरणको प्रारम्भिक विवरण अनुसार, यस प्रकोपबाट करिब २५ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ बराबरको बीमा दाबी पर्ने देखिएको छ, जसको आधाभन्दा बढी हिस्सा एउटै कम्पनीको थाप्लोमा परेको छ।
प्राधिकरणको भदौ १५ गतेसम्मको तथ्यांक अनुसार, भारतीय सरकारी लगानी रहेको द ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा सबैभन्दा धेरै १३ अर्ब ४ करोड २१ लाख रुपैयाँको दाबी परेको छ। यो कुल दाबी रकमको ५० प्रतिशतभन्दा बढी हो। विशेषगरी ठूला जलविद्युत् आयोजनाहरूको बीमा यस कम्पनीमा रहेकाले बाढीको प्रत्यक्ष असर ओरिएन्टलको वित्तिय अवस्थामा देखिने भएको छ।
बाढीबाट भएको क्षतिको दायित्व बहन गर्न बीमा कम्पनीहरू कति सक्षम?
यसैगरी, युनाइटेड अजोड इन्स्योरेन्समा ४ अर्ब ९७ करोड ४८ लाख र सानिमा जीआईसी इन्स्योरेन्समा २ अर्ब १० करोड २८ लाख रुपैयाँको दाबी पर्ने प्रारम्भिक अनुमान छ। निजी क्षेत्रका अन्य ठूला कम्पनीहरू सिद्धार्थ प्रिमियर र शिखर इन्स्योरेन्समा पनि झण्डै २–२ अर्ब रुपैयाँको दाबी परेको छ।
‘क्लाइमेट चेन्ज’ को मारमा नेपाल: जलविद्युत आयोजनामा बीमा शुल्क बढ्नसक्ने
कुल दाबीमध्ये २० अर्ब ५० करोड ७७ लाख रुपैयाँ त इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा अन्तर्गत मात्रै छ। यसका साथै, सम्पत्ति बीमातर्फ २ अर्ब ३४ करोड र ३१३ वटा सवारी साधनमा क्षति पुग्दा मोटर बीमातर्फ १ अर्ब ५५ करोडको दाबी परेको छ। ढुवानी भइरहेका सामान र स्वास्थ्य बीमामा समेत करोडौँको क्षति देखिएको छ।
दाबी भुक्तानीको चुनौती र पुनर्बीमाको सहारा
कुल ५८३ वटा दाबी आवेदनहरू प्रारम्भिक भए पनि यो संख्या र रकम अझै बढ्न सक्ने प्राधिकरणको आकलन छ। नेपाली बीमा कम्पनीहरूले यति ठूलो रकमको दायित्व एक्लैले व्यहोर्न नसक्ने हुनाले यसको मुख्य भार वैदेशिक पुनर्बीमा कम्पनीहरूमा जानेछ। तर, बारम्बार हुने यस्ता ठूला क्षतिले आगामी दिनमा नेपालका आयोजनाहरूको बीमा शुल्क (प्रिमियम) महँगो हुन सक्ने र पुनर्बीमा पाउन कठिन हुने संकेत देखिएको छ।