काठमाडौँः मुक्तिनाथ विकास बैंकले नेपालभरका ढुवानी व्यवसायीलाई सवारीसाधन खरिद तथा व्यवसाय विस्तारका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ।
यसका लागि बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबीच समझदारी भएको छ। सम्झौताअनुसार महासंघमा आबद्ध ढुवानी व्यवसायीहरूले आफ्नो व्यवसायका लागि आवश्यक पर्ने विभिन्न ब्रान्डका सवारीसाधन खरिद गर्न तथा व्यवसाय सञ्चालनका लागि आवश्यक कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्।
समझदारीपत्रमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र ढुवानी व्यवसायी महासंघ नेपालका अध्यक्ष माधवप्रसाद नेपालले हस्ताक्षर गरेका छन्।
बैंकले महासंघमा आबद्ध सदस्यहरूलाई आफ्ना १७६ वटै शाखामार्फत आकर्षक तथा सहुलियतपूर्ण ब्याजदरमा कर्जा उपलब्ध गराउने जनाएको छ। उक्त कर्जा ढुवानीका लागि आवश्यक सवारीसाधन खरिद गर्नुका साथै व्यवसाय सञ्चालन र विस्तारका लागि समेत उपयोग गर्न सकिनेछ।
बैंक र महासंघबीचको सहकार्यले ढुवानी व्यवसायीको वित्तीय पहुँच विस्तार हुनुका साथै सवारीसाधन थप्न, सेवा विस्तार गर्न तथा व्यवसायलाई व्यवस्थित रूपमा अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
मुक्तिनाथ विकास बैंकले हाल अटो कर्जा, कृषि कर्जा तथा लघु, साना र मझौला उद्यम ९एमएसएमई० क्षेत्रमा समेत विशेष तथा न्यून ब्याजदरका कर्जा योजना सञ्चालन गरिरहेको जनाएको छ।