काठमाडौँः रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रभु बैंक लिमिटेडले २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बैंकले विपद्बाट प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले उक्त रकम नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा हुने गरी उपलब्ध गराएको हो।
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्माले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।
गत भदौ १० गते रसुवा जिल्लाबाट बग्ने भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले आसपासका बस्ती तथा नदी किनारका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको थियो। उक्त विपद्बाट प्रभावित परिवारको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले बैंकले आर्थिक सहयोग गरेको जनाएको छ।
चेक हस्तान्तरण कार्यक्रममा बैंकका अध्यक्ष किशोरजंग कार्की, सञ्चालक राजु पौडेल तथा सञ्चालक डा. अम्बिका शर्मा लामिछानेको समेत उपस्थिति रहेको थियो।
बैंकले विपद्को कठिन घडीमा प्रभावित परिवारको खोज, उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले सरकारमार्फत उक्त सहयोग उपलब्ध गराएको जनाएको छ।