काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार दोस्रो कारोबार दिन पनि बढेर बन्द भएको छ। मंगलबार सामान्य अंकले बढेको नेप्सेले बुधबार पनि सोही सकारात्मक लयलाई निरन्तरता दिएको हो।
बुधबार नेप्से परिसूचक १५.४४ अंकले बढेर २ हजार ५३८.११ विन्दुमा पुगेको छ।
नेप्से परिसूचकसँगै कारोबार रकम पनि सामान्य बढेको छ। मंगलबार २ अर्ब ९० करोड रुपैयाँबराबरको सेयर कारोबार भएकोमा बुधबार २ अर्ब ९४ करोड २७ लाख ८१ हजार रुपैयाँबराबरको ७२ लाख ६८ हजार कित्ता सेयर किनबेच भएको छ।
बुधबार उपकार लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक ११.८७ प्रतिशतले बढेको छ भने कारोबारमा आएको एनएमबी इनर्जी बन्ड ४ प्रतिशत २०९३÷९४ को मूल्य भने सर्वाधिक ५.८१ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा सानिमा मिडिल तमोर हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको बुधबार मात्रै १४ करोड १७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।