काठमाडौँः नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको तरलता व्यवस्थापनका लागि बजारबाट १८ अर्ब रुपैयाँ संकलन गर्ने भएको छ। राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ९० दिनका लागि उक्त रकम प्रशोचन गर्न लागेको हो।
राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोलमा सहभागी हुन सक्नेछन्।
बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि आवेदन दिन सकिनेछ। त्यसपछि १० करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुल आह्वान गरिएको रकमसम्म बोलकबोल गर्न सकिने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।
यस निक्षेप संकलन उपकरणमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्।
बोलकबोलमार्फत प्राप्त प्रस्तावमध्ये सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकता दिइनेछ। त्यसपछि क्रमशः कम ब्याजदरका प्रस्तावलाई प्राथमिकतामा राख्दै राष्ट्र बैंकले आह्वान गरिएको १८ अर्ब रुपैयाँसम्म रकम बाँडफाँट गर्नेछ।
राष्ट्र बैंकका अनुसार संकलित रकमको सावाँ तथा ब्याज आगामी मंसिर १६ गते भुक्तानी गरिनेछ।
यस्तै, निक्षेप संकलनमार्फत लगानी गरिएको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको लगानी पोर्टफोलियोमा गणना हुनेछ। तर, उक्त रकमलाई अनिवार्य नगद मौज्दात अनुपात ९सीआरआर० कायम गर्न प्रयोग गर्न भने पाइने छैन।
राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न समय–समयमा निक्षेप संकलनलगायतका मौद्रिक उपकरण प्रयोग गर्दै आएको छ।