काठमाडौँः चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा वाणिज्य बैंकहरूले ८ अर्ब ७३ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। नेपालमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकले साउनमा उक्त नाफा कमाएका हुन्।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन मसान्तसम्मको तथ्यांकअनुसार नाफा कमाउने बैंकहरुमा नबिल बैंक सबैभन्दा अगाडि देखिएको छ। नबिलले एक महिनामै ८८ करोड ३१ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ। त्यसपछि ग्लोबल आइएमई बैंकले ८१ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ।
त्यस्तै, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ७३ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कुमारी बैंकको नाफा ५४ करोड ७१ लाख रुपैयाँ तथा राष्ट्रिय वाणिज्य बैंकको ५२ करोड ३९ लाख रुपैयाँ रहेको छ।
५० करोडभन्दा बढी नाफा कमाउने बैंकमा प्राइम कमर्सियल बैंक पनि परेको छ। प्राइमले साउनमा ५२ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
साउनमा लक्ष्मी सनराइज बैंकले ४९ करोड ६८ लाख, एभरेस्ट बैंकले ४९ करोड २२ लाख र एनएमबी बैंकले ४७ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएका छन्।
त्यसैगरी सिद्धार्थ बैंकको नाफा ४२ करोड ९५ लाख, कृषि विकास बैंकको ३८ करोड ८३ लाख र सानिमा बैंकको ३८ करोड २८ लाख रुपैयाँ रहेको छ।
प्रभु बैंकले ३२ करोड ९४ लाख, नेपाल बैंकले ३० करोड ८६ लाख, हिमालयन बैंकले २७ करोड ३० लाख र माछापुच्छ्रे बैंकले २७ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।
त्यस्तै, सिटिजन्स बैंकको नाफा २५ करोड ९३ लाख, एनआईसी एशिया बैंकको २२ करोड १७ लाख र स्ट्यान्डर्ड चार्टर्ड बैंकको २० करोड ३९ लाख रुपैयाँ रहेको छ।
साउनमा सबैभन्दा कम खुद नाफा कमाउनेमा नेपाल एसबीआई बैंक रहेको छ। बैंकले १७ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको तथ्यांकमा देखिन्छ।
यसअनुसार साउनमा सबैभन्दा बढी खुद नाफा कमाउने नबिल बैंक र सबैभन्दा कम नाफा कमाउने नेपाल एसबीआई बैंकबीच करिब ७० करोड ७२ लाख रुपैयाँको अन्तर देखिन्छ।
बैंकहरूको नाफा ३२ प्रतिशतसम्म बढ्दा सेयरधनीलाई लाभांश दिने क्षमता किन खुम्चियो?