काठमाडौं– राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। मौद्रिक नीति पारित गराउन राष्ट्र बैंक सञ्चालक समिति बैठक यतिबेला केन्द्रीय कार्यालय बालुवाटारमा बसिरहेको छ। बोर्ड बैठकले मौद्रिक नीति पारित गरेपछि आजै गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गर्ने अन्तिम तयारी छ।
सामान्यतः बजेटपछि राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने व्यवस्था छ। सरकारले आफ्ना नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट सार्वजनिक गर्छ भने बजेटले तय गरेको आय–व्ययको सन्तुलन मिलाउन राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्दै आएको छ। विशेषगरी सरकारले कुनै निश्चित आर्थिक उद्देश्य प्राप्त गर्न मौद्रिक नीति ल्याउने गर्छ।
मौद्रिक नीतिले मुलुकको अर्थतन्त्रमा बचत संकलन, परिचालन, तरलता व्यवस्थापन, मुल्यवृद्धि, ब्याजदर निर्धारण तथा विदेशी विनिमयलगायतको सन्तुलन कायम गर्ने काम गर्छ । गभर्नर अधिकारीले बजेटले लिएको आर्थिक वृद्धिदर हासिल गर्ने, मूल्यवृद्धि नियन्त्रण गर्ने र बाह्य क्षेत्र व्यवस्थापन हुने गरी चालू आवको मौद्रिक नीति जारी गरिने बताउँदै आएका छन् ।
सरकारले गत १५ जेठमा ६ प्रतिशतमाथिको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ। सोही बजेटले लिएको आर्थिक वृद्धिदरको लक्ष्य, रोजगारी सिर्जना गर्नेदेखि मुलुकको वित्तीय तथा मौद्रिक नीतिको सुधार गर्नेगरी मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी छ।
समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पु¥याउन राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्छ। मौद्रिक नीतिले मुद्राप्रदाय, कर्जा र ब्याजदर व्यवस्थापनमार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सिर्जनामा सहयोग पु¥याउने उद्देश्य राखेको हुन्छ।


