काठमाडौँ- नेपाली कांग्रेसका सहमहमान्त्री बद्री पाण्डेले नेकपाकालमा भएका भ्रष्टाचारका काण्ड खोतल्नुपर्ने बताएका छन्। केन्द्रीय समिति बैठकमा बोल्दै पाण्डेले यस्तो बताएका हुन्।
‘नेकपाकालका काण्ड खोतल्नुपर्छ। आवश्यक पर्यो भने सम्पत्ति छानबिन गर्ने हिम्मत कांग्रेसले गर्यो भने हराएको विश्वास फिर्ता ल्याउन सक्छौं। केन्द्र, प्रदेश र स्थानीय तहबाट भ्रष्टाचार नियन्त्रणका लागि सक्रिय गराउनुपर्छ,’ उनले भने, ‘भातृसंस्थालाई भ्रष्टाचार विरुद्धको अभियानमा खटाउनुपर्छ। त्यसले हामी प्रतिको जनताको विश्वास फिर्ता हुन्छ।’
अर्थतन्त्र कमजोर भएको हल्लाका कारण मान्छेहरु आत्तिएको उनको भनाइ थियो। ‘वित्तीय संस्थाप्रति विश्वास हराउँदै गएको छ। आर्थिक संकट मोचन गर्नका लागि कांग्रेसले विशेषरुपमा पहल गर्नुपर्छ,’ उनले भने, ‘अहिले भूकम्पको बेला भन्दा धेरै मन हल्लिएको छ। भुकम्पका बेलामा लगानी सम्मेलन गरेर हामी उभियौं। अहिले पनि लगानी सम्मेलन किन नगर्ने? त्यसमा अगुवाइ गर्नुपर्छ।’
महाधिवेशनको नाराको आलोकमा अगाडीको कार्यक्रम अघि बढाउन आवश्यक रहेको बताएका पाण्डेले गठबन्धनलाई जोगाएर ५ वर्ष स्थिर सरकार चलाउनुपर्ने बताएका थिए। ‘०८४ सालमा के गर्ने भन्ने कुरामा बहस आवश्यक छैन। पार्टीलाई बलियो बनाउनुपर्छ,’ उनको भनाइ छ।


