काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद् बैठक सञ्चालमा विरोध गरेका छन्। गृहमन्त्रीको राजीनमा माग गर्दै एमालेका सांसदहरूले उठेर विरोध गरिरहेका छन्।
यसअघि एमालेका सांसद पदम गिरीले सुन तस्करी काण्डमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको समेत संलग्न भएको आरोप लगाउँदै उनको राजीनामा माग गर्दै बैठक सञ्चालन हुन नसक्ने बताएका थिए।
त्यसअघि एमाले संसदीय दलको बैठकले सुनकाण्डमा गृहमन्त्रीको जवाफ माग गर्ने निर्णय गरेको थियो। एमालेको बैठकका कारण दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक ३ बजे मात्र सुरु भएको थियो।
झन्डै सय किलो सुन तस्करी प्रकरणमा १० जना पक्राउ परेका छन्।
कम्बोडियाबाट फर्किने क्रममा सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले सुन काण्डमा गृहमन्त्री संलग्न भएको हुन सक्ने आशंका गरेका थिए। उता गृहमन्त्री नारायणकाजी श्रेष्ठले भने कुनै …कोट वा …टारका नजिकका भए पनि तस्करलाई कारबाहीको दायरामा ल्याइछोड्ने बताएका छन्।
उता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक सय किलो सुन तस्करी प्रकरणको छानबिन गर्न माग गर्दै जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ। सभामुख देवराज घिमिरेलाई रास्वपाका सांसदहरूले बुधबार सार्वजनिक महत्वको प्रस्ताव बुझाएका हुन्।


