काठमाडौँ- सर्वोच्च अदालतले कोशी प्रदेशमा ७ दिनभित्र गठबन्धनको सरकार बनाउन आदेश गरेको छ। मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गर्दै सर्वोच्चले गठबन्धनको नयाँ सरकार गठनका लागि ७ दिनको म्याद दिएको हो।
न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले थापाको नियुक्ति बदर गर्दै गठबन्धनको नयाँ सरकार गठनको सीमा पनि तोकिदिएको हो।
कोशीमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा ७ दिनमा गठबन्धनको नयाँ सरकार नबने संविधानको धारा १६८ को ३ अनुसार प्रदेश सरकार बनाउन सर्वोच्चले भनेको छ। धारा १६८ को उपधारा ३ मा प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ।
बर्खास्तीमा परेका थापाले मुख्यमन्त्री पदमा दाबी गर्दा सभामुख बाबुराम गौतमको समेत समर्थन पेस गरेका थिए। सोही समर्थनका आधारमा प्रदेश प्रमुख परशुराम खापुङले असार २१ गते थापालाई मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए।
उक्त नियुक्ति संविधानसम्मत नभएको भन्दै निवर्तमान मुख्यमन्त्रीसमेत रहेका नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले मुख्यमन्त्री थापालाई पदमुक्त गर्ने आदेश दिएको हो।
थापाको नियुक्ति बदर गरी संविधानको धारा १६८ (३) अनुसार प्रदेश सभाको ठूलो दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न उनको माग थियो।


