काठमाडौँ- मुगुको छायानाथ रारा नगरपालिका-२ मा पार्क निर्माण गर्दा अनियमितता साढे ३८ लाख भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोले ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरको छ। आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितजंग मल्लसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
आयोगले पालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मल्ल, तत्कालीन लेखापाल रुन बहादुर सेजुवाल, कम्प्युटर अपरेटर केशरबहादुर रावल, तत्कालीन इन्जिनियर महेश सिंह कठायत र तत्कालीन असिस्टेन्ट सव-इन्जिनियर हस्तबहादुर मल्ललाई अभियुक्त बनाएर मुद्दा दायर गरेको हो। यस्तै उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर रावल र कोषाध्यक्ष वसन्ती रावलविरुद्ध पनि मुद्दा दायर भएको छ।
पार्क निर्माणस्थलको टुंगो नलगाई पार्क निर्माणको लागि डिजाइन, नक्सा र लागत अनुमान तयार गर्न लगाई स्वीकृत गरी उपभोक्ता समितिलाई ३८ लाख ४७ हजार ५०० रुपैयाँ पेस्की उपलब्ध गराएको आरोप उनीहरूमाथि छ। जिल्ला वन कार्यालयले आफ्नो अनुमति नदिएकोले सम्झौता बमोजिम पार्क निर्माण हुन नसक्ने अवस्था आएको थियो।


