मुगु- संघीय सरकार मातहतको सघन सहरी विकास कार्यालय जुम्लाले मुगु जिल्ला सदरमुकाम गमगढी बजार जाँदा प्रयोग गर्नका लागि रेलिङ्गसहित २३० सिढी निर्माण भएका छन्।
छायाँनाथ रारा नगरपालिका-१ मेलारुखदेखि बजारसम्म रहेको पुरानो ठाडो उकालो गोरेटो बाटोलाई सुधार गरी बजार पुग्न सजिलो बनाइएको सघन शहरी विकास कार्यालयले जानकारी दिएको छ।
सिढी निर्माण भएपछि गमगढी बजारका दक्षिणतिर रहेका श्रीनगर, भामवाडा, चैन, बालै, घुईर, माथि घुईर, पिना, कोटिल्ला, मन्दु, जुक्यान, घट्लेख, तल्लेख गाँउका स्थानीयहरुलाई गमगढी-बालै-पिना सडकको मुलबाटोबाट बजार जान सजिलो भएको छ।
पहिला घुमाउरो बाटो भएर बजार जाँदा मूल सडकबाट १५ देखि २० मिनेटसम्म लाग्ने गरेको थियो। अब सिढीबाट जाँदा बढीमा ५ मिनेट लाग्ने गरेको स्थानीय लोकराज परिवारले बताए।

पुरानो गोरेटो त्यो पनि भीरमा हुँदा कयौँ पटक मानिसहरु लडेको र मुख्य गरी महिला, बालबालिका र जेष्ठ नागरिकहरु छोटो बाटो भएर बजार जाँदा र घर फर्कदा सोही बाटो प्रयोग गर्ने भएकाले जोखिम मोलेर हिँड्ने गर्दथे। तर अब सिढी र भीर तिर रेलिङ्ग बनाएकाले धेरै सहज भएको श्रीनगर गाँउका स्थानीय तथा निर्माण उपभोक्ता समितिका अध्यक्ष जर्मकला नेपालीले बताए। उनका अनुसार सघन शहरी विकास कार्यालय जुम्लाको ४७ लाख आर्थिक लगानीमा रेलिङ्ग सहितको सिढी बाटो निर्माण भएको छ।
स्थानीयहरुलाई बजारमा जान मात्र नभइ खानेपानीको अभाव भैरहने गमगढी बजारका बासिन्दाहरुलाई खानेपानी ल्याउन, नुहाउन र लुगाधुन नजिकै रहेको हुलुम खोला र चैन खोलालगायत गाँउ बस्तीमा जान पनि सहज भएको स्थानीय दानसिंह परिवारले बताएका छन्।
जिल्ला सदरमुकाम अग्लो डाँडोमा रहेको र वरिपरि बस्ती भरहेकाले बजारमा जान आउन यस्ता खालका संरचना बनाउदा छिटोछरितो र समय मै मानिसहरुका बजारजन्य काम सम्पन्न हुने गर्दछन्।
छायाँनाथ रारा नगरपालिकाकी उपप्रमुख ऐश्वर्या मल्लले ठिनी तिरबाट, चैन तिरबाट र सशस्त्र क्याम्प तिरबाट पनि बजार प्रवेशका लागि यस्ता खालका रेलिङ्गसहितका सिढी बनाउन आवश्यक रहेकोले सघन सहरी विकास कार्यालयसँग माग गरिने बताइन्।
