काठमाडौँ– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र शीर्ष नेताहरूबीचको छलफल बिना निष्कर्ष सकिएको छ। सदनको गतिरोध अन्त्य गर्नका लागि आजै दुई पटक सभामुखसँग बस्दा पनि शीर्ष तीन नेताबीच सहमति नजुटेको हो।
सदनको अवरोध खुलाउनका लागि प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र सभामुख घिमिरेबीच आजै दुई पटक छलफल भएको थियो। उनीहरुबीच सहमति नजुटेपछि प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित भएको छ।
सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर अपराह्न ४ बजेका लागि सारिएको थियो। तर सहमति नजुटेपछि ४ बजेको बैठक पनि मंगलबारसम्मका लागि स्थगित भएको सूचना टाँसिएको छ।
सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले भोलि अपराह्न ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका छन्।
प्रमुख प्रतिपक्षी एमालेले सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने अडान राखिरहेको छ। सत्ता पक्ष भने समिति बनाउन तयार देखिएको छैन।
यसअघि प्रधामन्त्री प्रचण्डले संसदीय समितिको नेतृत्वमा भागबन्डा मिलाएर सदन खुलाउने प्रयास गरेका थिए। उनका अनुसार एमालेलाई तीन वटा समितिको नेतृत्व दिने तयारी गरिएको थियो। तर एमालेले भने छानबिन समितिलाई अडानबिन्दु बनाएको छ।


