काठमाडौं । भोलि शनिबारदेखि मनसुन पुनः सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले जारी गरेको विशेष बुलेटिनअनुसार, मनसुनको न्युनचापीय रेखा नेपाल नजिक रहेकाले शनिबार देखि पुनः भारी वर्षाको सम्भावना रहेको छ । मनसुन सक्रिय हुँदा बाढी, पहिरो, डुबान, हवाई तथा स्थल यातायात अवरुद्ध हुन सक्ने सम्भावनासमेत छ ।
मनसुन सक्रिय हुँदा देशभर भारी वर्षा हुन सक्ने भन्दै मौसमविद्हरुले विशेष पूर्वसतर्कता अपनाउन आग्रह गरेका छन् । बाढी पूर्वानुमान महाशाखाले पनि आज सूचना जारी गरी भोलिदेखि नदी तथा खोलाहरुमा जलसतह बढ्ने भन्दै तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद बिनु महर्जनका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपाल नजिक छ । यो रेखा अझै उत्तरतिर सरेर नेपालको झन् नजिक आइपुगेको छ । त्यसैको प्रभावले नेपालका धेरै ठाउँमा पानी पर्ने छ ।


