काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग इन्डोनेसियाका गैरआवासीय राजदूत हेरु हार्तान्तो सुबोलोले भेट गरेका छन्। शुक्रबार मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय सम्बन्ध, विकास सहायता विषय लगायत विविध विषयमा कुराकानी भएको मन्त्री रिजालको सचिवालयले जानकारी दिएको छ।
भेटमा मन्त्री रिजालले दुई देश बीचको व्यापार तथा उद्योग क्षेत्रमा सम्बन्ध सुदृढ बनाउनको लागि राजदूत सुबोलोले निभाउनु भएको सक्रिय भूमिका तथा प्रयासको प्रशंसा गरे। त्यसैगरी मन्त्री रिजालले नेपाल र इन्डोनेसियाबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउनको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु भएको भन्दै राजदूत सुबोलोको प्रशंसा गरेका थिए।
व्यापार, लगानी तथा पर्यटनको क्षेत्रमा सहकार्य एवम् सहयोग आदानप्रदानको प्रशस्त सम्भावना रहेको समेत मन्त्री रिजालले बताएका थिए। आगामी दिनमा दुई मुलुकबीचको आर्थिक सहकार्यको विस्तारमा राजदूत सुबोलोको थप सक्रियता रहने विश्वास मन्त्री रिजालले व्यक्त गरेका थिए।
मन्त्रि रिजालले नेपाल भ्रमण गर्न आउने इन्डोनेसियाली पर्यटकको संख्या समेत आगामी वर्षमा वृद्धि हुने अपेक्षा व्यक्त गर्दै दुई मुलुकबीचको सांस्कृतिक एवम् भौगोलिक निकटताको कारण पर्यटन प्रवर्द्धनमा सहकार्यको प्रशस्त सम्भावना समेत रहेको उल्लेख गरे।
भेटमा राजदूत सुबोलोले जलविद्युत परियोजनाको सञ्चालन तथा व्यवस्थापनका क्षेत्र लगायत हवाईजहाज मर्मतका क्षेत्रमा नेपालसँग सहकार्यको अभिवृद्धि गर्न इन्डोनेसिया सरकार उत्सुक रहेको बताएका थिए।
