काठमाडौंँ– नेपाली कांग्रेसका सांसद सुनील शर्मालाई साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएको छ।
विज्ञान विषयमा प्रवीणता प्रमाणपत्र तह (आईएस्सी)को नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा पक्राउ परेका सांसद शर्मालाई हिरासतमा राख्न अदालतले अस्वीकार गरेको हो।
उनलाई बिहीवार केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले घरबाट नै नियन्त्रणमा लिएको थियो।
शर्मालाई शुक्रबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएर हिरासतमा राख्न प्रहरीले अनुमति माग गरेको थियो। न्यायाधीश डण्डपाणि शर्माको इजलासले थुनामा नराखिकन शर्माविरुद्ध अनुसन्धान गर्न ब्युरोलाई आदेश दिएको छ।
नक्कली प्रमाणपत्र बनाएको आरोपमा सीआईबीले ८ जनालाई पक्राउ गरेको छ। उनीहरूमध्ये शर्मालाई रिहा गर्न आदेश दिएपनि बाँकी ७ अभियुक्तविरुद्ध भने ५ दिन हिरासतमा नै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।


