काठमाडौं- नेपाल वायुसेवा निगमले मलेसियासँगको नियमित उडानको सट्टा चार्डर फ्लाइटको तालिका सार्वजनिक गरेपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले स्पष्टीकरण सोधेको छ। नेपाल सरकार र मेलेसियाबीच हप्तामा नियमित १४ फ्लाइट उडान गर्ने हवाइ सम्झौता विपरीत निगमले चार्डर फ्लाइटको तालिका सार्वजनिक गरेपछि प्राधिकरणले स्पष्टीकरण सोधेको हो।
‘नेपाल र मलेसिया सरकारबीच भएको हवाइ सम्झौता बमोजिम प्रतिहप्ता १४ वटा नियमित उडान सञ्चालन गर्न पाउने व्यवस्था छ। तर निगमले १४ वटा उडान नगरी चार्टर उडानका लागि अनुमति माग गरेको थियो। प्राधिकरणले यसै विषयमा नेपाल वायुसेवा निगमलाई स्पष्टीकरण सोधेको हो,’ प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
निगमले समर सिजनका लागि उडान अनुमति माग गर्दा नियमित उडानको सट्टा चार्डट उडानका लागि अनुमति मागेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए। समर सिजनका लागि निगमले अनुमति माग गर्दा नियमित उडानको सट्टा चार्डट किन माग गरेको भनेर सोधिएको उनको भनाइ छ।
‘समर सेड्युलका लागि निगमले उडान अनुमति माग गरेको छ। जसमा नियमित उडानको सट्टा चार्टर भनेर उडान अनुमति माग गरेको देखिएकाले यस्तो किन गरियो भनेर प्राधिकरणले जवाफ माग गरेको हो,’ प्रवक्ता निरौलाले नेपाल क्लिक्ससँग भने।
मलेसियाको क्वालालम्पुर विमानस्थलसँग प्रत्येक वर्षको समर र विन्टर सिजनका लागि उडानको तालिका लिनुपर्ने हुन्छ। तर, निगमले उक्त तालिका नपठाई सिधै चार्टर उडानका लागि उडान अनुमति माग गरेको प्राधिकरणको भनाइ छ।
‘समर सेड्युलका लागि निगमले उडान अनुमति माग गरेको छ। जसमा नियमित उडानको सट्टा चार्टर भनेर उडान अनुमति माग गरेको देखिएकाले यस्तो किन गरियो भनेर प्राधिकरणले जवाफ माग गरेको हो,’ प्रवक्ता निरौलाले नेपाल क्लिक्ससँग भने।
नियमित उडानको तुलनामा चार्टर उडान महँगो हुने भएकाले निगमको फाइदाका लागि चार्टर उडानको तालिका स्वीकृतिका पठाएको नेपाल वायुसेवा निगम स्रोत बताउँछ। ‘निगमले सस्तो उडान भर्नुभन्दा चार्टरमार्फत उडान गरेर बढी भाडा असुली गर्न खोजेको हो,’ स्रोतले भन्यो।
हाल निगमले मेलसिया उडानबापत प्रतियात्रु भाडादर ३५ हजार रुपैयाँ कायम गरेको छ। चार्टर मार्फत उडान भर्दा उक्त भडा झन्डै दोब्बर पर्न आउने भएकाले प्रक्रिया अगाडि बढाएको निगमकै कर्मचारी बताउँछन्।
यसअघि पनि निगमले प्राधिकरणको नियम उल्लंघन गरेको, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान नभरेको र विमान परिचालिकामाथि यौन दुर्व्यहावर गरेको भन्दै निगमलाई स्पष्टीकरण सोधेको थियो। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान नभरे ग्राउन्ड ह्यान्डलिङ पनि खोसिदिने क्यानको चेतावनीपश्चात् निगमले अहिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको तयारी गरिरहेको बताइएको छ। यद्यपि निगमले उक्त विमानस्थलमा उडानका लागि क्यानसँग अनुमति भने माग गरिसकेको छैन।
