काठमाडौँ- मधेशबाट १२ दिन लगाएर पैदल काठमाडौँको आइपुगेका मिटरब्याज पीडितलाई काठमाडौँ महानगरले सोमबार दिउँसो खुलामञ्च प्रवेशमा रोक लगायो।
प्रवेश गर्न नदिएपछि खुलामञ्च गेटसम्म पुगेका मिटरब्याज पीडित र काठमाडौँ महानगरको प्रहरीबीच तनाव सिर्जना भएको थियो। त्यसपछि मिटरब्याज पीडित खुलामञ्च अगाडि सडकमा नै धर्नामा बसे।
रोक लगाएको साँझ काठमाडौंका मेयर बालेन साहले अघिल्लो दिन नै आन्दोलनकारी आउने थाहा पाएको जानकारी फेसबुक पोस्टमार्फत् दिएका छन्। साथै उनले आफ्नो पालिकाको नभए पनि पीडितलाई सहयोग गर्ने र बस्ने व्यवस्थासमेत गरेको जानकारी दिएका छन्।
‘हिजो ११ दिन हिडेर काठमाडौँ आउने समाचार हेरेपछि महानगरको मेयरको हैसियतले आफ्नो कार्यक्षेत्रमा नपरे पनि मानवताको नाताले काठमाडौँ बसुन्जेल पशुपति धर्मशालामा बास र खाना को व्यवस्थापन गर्न हामी तत्पर भएर आज बिहानै उहाँहरूसँग सम्पर्क गरेर हामीले पशुपति जान अग्रह गर्यौँ,’ बालेनले फेसबुकमा लेखेका छन्।
बालेनको आग्रह पीडितले नमानेको पीडितले आन्दोलनका लागि खुल्लामञ्च नै माग गरेका छन्। ‘हामीले सम्झाएर रत्नपार्कको शान्तिवाटिकामा आन्दोलन गर्न प्रबन्ध गरेका छौँ,’ मेयर साहले लेखेका छन्। साथै उनले कोही पीडित भएमा काठमाडौँ आउन नपर्ने गरी व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन्।
‘विगत केही वर्षदेखि नेपाल सरकारले मिटरब्याजीहरुलाई कारबाहीको दायरामा ल्याउने आश्वासनमै सिमित रह्यो। सधैँ काठमाडौँ आएर आन्दोलन नै गर्न पर्ने स्थिति सिर्जना हुँदा पनि सरकार हेरेर बस्ने अवस्था छ,’ उनले लेखेका छन्, ‘हामी उहाँहरुको मागप्रति ऐक्यबद्धता जनाउँदै नेपाल सरकारसमक्ष समस्या समाधानका लागि जोडदार माग राख्दछौँ। हामी चाहन्छौँ यस्तो अवस्थामा काठमाडौँ कोही आउन नपरोस्, गाउँगाउँमा सरकार पुगोस्।’
मिटरब्याज पीडितलाई महानगरको अवरोध [फोटो फिचर]
मातातीर्थमा मिटरब्याज पीडितको भान्सा [तस्बिरहरु]
मधेशबाट पैदलै काठमाडौँ आइपुगे मिटरब्याज पीडित [फोटो फिचर]


