काठमाडौं– बालुवाटास्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणका बारेमा निर्णयाधिकारीलाई पनि छानबिन गर्ने सर्वोच्चको आदेश हुँदाहुँदै यसबारे कदम नचालिएको अवस्थामा प्रकरणबारे जानकारी गराउन भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पुगेका छन्।
उनले आफैं सीआईबी पुगेर घटनाबारे सत्यतथ्य जानकारी दिएको बताएका छन्। सामाजिक सञ्जालमार्फत् उनले आफू सीआईबी पुगेर घटनाबारे जानकारी दिएको बताएका छन्।
भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रिपरिषद्को निर्णय सम्बन्धमा उठेका प्रश्नहरूबारे सत्यतथ्यको जानकारी मेरो सुरुदेखिको सार्वजनिक प्रतिबद्धता बमोजिम सीआइबीलाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु! यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका, सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न/गराउन एउटा दरो प्रस्थानविन्दु बनोस् भन्ने कामना गर्दछु।’
सर्वोच्च अदालतले समेत नीतिगत निर्णय गर्नेमाथि अनुसन्धान गर्न भनेपछि भट्टराईसहित पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि पनि अनुसन्धान गर्ने बाटो खुलेको थियो। तर सीआईबीले उनीहरुलाई छानबिनमा ल्याएको छैन।


