काठमाडौं– अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा वनले ओगटेको क्षेत्रफल करिब ४५ प्रतिशत पुगेको बताएका छन्। ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) ७ औं विश्व सम्मेलनका क्रममा भएका द्विपक्षीय बैठकमा यस्तो बताएका हुन्।
क्यानाडाको भ्यान्कुभरमा आयोजित बैठकमा उनले सामुदायिक वनको अवधारणाबाट वनले ओगटेको क्षेत्रफल झण्डै ४५ प्रतिशत पुगेको बताएका थिए। यस्तै उनले पछिल्लो दशकमा बाघको संख्यामा तेब्बर वृद्धि भएको तथा गैंडाको संख्यामा झण्डै दोब्बर भएको बताएका थिए।
महतले विश्व वन्यजन्तु कोषका प्रमुख संरक्षण अधिकृत निक शेखरन, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम प्रशासक अकिम स्टिनर तथा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघकी निर्देशक डा. ग्रेथल अग्वीलरसंग जलवायू परिवर्तनले पारेको विश्वव्यापी प्रभाव तथा नेपालले सामाना गर्नुपरेका चुनौतीहरू एवं त्यसको न्यूनीकरण गर्ने उपायहरूको बारेमा छलफल गरेका छन्।
