काठमाडौं– मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेकाले आज पनि नेपालका अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले पनि देशभर सामान्यदेखि पूर्ण बदली रही कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा वर्षा भइरहेको महाशाखाले बताएको छ।
आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षा हुने सम्भावना छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
आज राती कोसी, मधेस, बागमती, गण्डकी प्रदेशका केही स्थाा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ।
पछिल्लो २४ घन्टामा सबैभन्दा बढी पानी नवलपुर, पाल्पा, झापा र लम्जुङमा परेको देखिएको छ। विभागको जलमापन स्टेसनको मापनका आधारमा नवलपुरमा सबैभन्दा बढी ११८.६ मिलिमिटर पानी परेको छ।यस्तै, पाल्पाको अर्चने मापन केन्द्रका अनुसार पाल्पामा ११८.२ मिलिमिटर पानी परेको छ। झापाको दमकमा १०८ र लम्जुङमा ८२.४ मिलिमिटर वर्षा भएको देखिएको छ।
नेपालमा मनसुन भित्रिएपछि सबैभन्दा बढी पानी पोखराको लुम्लेमा परेको छ। लुम्लेमा ३ हजार आठ मिलिमिटर पानी परेको मौसमविद सुदर्शन हुमागाईंले बताए। उनका अनुसार अहिलेसम्म सबैभन्दा कम पानी मुस्ताङमा परेको छ। मुस्ताङ्मा १७०.५ मिलिमिटर मात्र वर्षा मापन भएको उनको भनाइ छ। नेपालमा ३१ जेठपछि मनसुन सुरु भएको हो।


