धरान- धरानमा आयोजना गरिने धार्मिक र्यालीका कारण धार्मिक हिसा र दुर्घटना निम्त्याउन सक्ने जोखिम रहेको भन्दै प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको छ। हिजो रातीदेखि जारी निषेधाज्ञापछि प्रशासनले सहर प्रवेशमा कडाइ गरेको छ।
विभिन्न हिन्दू संगठनहरुले आज धरानमा धार्मिक र्याली आयोजना गरेका छन्। र्याली आयोजकहरुले निषेधाज्ञा गरिएको क्षेत्र सिमानामा पुगेर धर्ना दिने बताइरहेका छन्। सनातनी धर्मका पक्षमा लेखिएका नारासहित प्रदर्शनकारीहरु विरोधका लागि बजार छेउकुनामा जम्मा भइरहेका छन्। हिन्दु धर्मका अगुवाहरुलाई र्यालीलाई अगुवाइ गरेको देख्न सकिन्छ।
उता यस्तो विरोध कार्यक्रमले तनाव उत्पन्न गर्न सक्ने भन्दै जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको हो। यही धार्मिक र्याली लक्षित गरेर धरानमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। धरान प्रवेश गर्ने नाकाहरुमा दर्जनौ संख्यामा प्रहरीले चेकजाँच गरिरहेको देख्न सकिन्छ। निषेधाज्ञा धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिमको बाटो बराहक्षेत्र १ मा पर्ने झण्डा चोकदेखि घरानतर्फको क्षेत्र धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम दक्षिण रामधुनी ६ नं. बाट बराहक्षेत्र वडा नं. ३ नडाहा चोकबाट धरानतर्फको क्षेत्रमा लगाइएको छ।
त्यस्तै , इटहरी उपमहानगरपालिका वडा नं. २० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्र, धरान उपमहानगरपालिका वडा नं ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा जिल्ला साँगुरीगढी गा.पा. वडा नं. ६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो।


