काठमाडौँ- सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ६ लाख बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारले लिखुपिकेका-२ का तत्कालीन वडाध्यक्ष रमेशकुमार बस्नेत, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र तत्कालीन लेखापाल जीवन सुवेदीविरूद्ध पनि मुद्दा दायर गरेको छ।
वडा कार्यालयको भवन निर्माण गर्न जग्गा खरिदको भुक्तानी लिएर अनियमितता गरेको आरोप उनीहरूमाथि लागेको छ। तत्कालीन वडाध्यक्ष बस्नेतले निःशुल्क पाएको जग्गालाई ६ लाखमा किनेको भन्दै आफैँ रकम लिएका थिए। यसमा अधिकृतहरूको समेत मिलेमतो देखिएको अख्तियारको भनाइ छ।


