काठमाडौँ– काठमाडौँ जिल्ला प्रशासन कार्यालयले सरकारी काममा खटिएका राष्ट्रसेवक निरुत्साहित हुने अभिव्यक्ति नदिन आग्रह गरेको छ। काठमाडौँ महानगरपालिका मेयर बालेन शाहको अभिव्यक्तिप्रति लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले यस्तो आग्रह गरेको हो।
‘पछिल्लो समयमा असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकहरूलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालहरूमा व्यक्त भएका अभिव्यक्तिहरूप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
लोकतन्त्र र विधिको शासनले कानुनको दृष्टिमा सबै समान भएको समेत प्रशासनले स्मरण गराएको छ। कानुनको बर्खिलाप गरिने जुनसुकै गतिविधिहरू नियन्त्रण गर्न र विधिको शासन प्रत्याभूत गर्न स्थानीय प्रशासन तथा सुरक्षा निकाय प्रतिबद्ध रहेको भन्दै महानगरले चेतावनी समेत दिएको छ। सार्वजनिक बिदाको दिनमा सरकारी गाडी प्रयोग गर्दा पास बोक्न पनि विज्ञप्तिमा सम्झाइएको छ।
शनिबार राति फेसबुकमा स्टाटस लेख्दै बालेनले सिंहदरवारमा आगो लगाइदिने धम्की दिएका थिए। संघीय सरकारलाई ‘चोर’ को संज्ञा दिँदै सिंहदरबारमा नै आगो लगाइदिने गैरजिम्मेवार टिप्पणी गरेको भन्दै उनको चौतर्फ आलोचना भएको थियो।
‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार,’ उनको स्टाटसमा लेखिएको थियो।
शनिबार बालेनकी पत्नी सबिना सवार सरकारी गाडीलाई ट्राफिक प्रहरीले रोकेर चेकजाँच गरेका थिए। सार्वजनिक बिदामा सरकारी गाडी चलाउन जिल्ला प्रशासनको पत्र प्रहरीले मागेका थिए। काठमाडौं महानगरका मेयर बालेन्द्र साहको गाडी भएको बताएका थिए। तर पास भने दिएनन्। गाडीमा मेयर पत्नी सवार थिइन्। पछि प्रहरीले छोडिदिएको थियो। त्यसलगत्तै बालेनको ‘अराजक’ स्टाटस फेसबुकमा आएको थियो। उक्त स्टाटसलाई बालेनले सोमबार भने डिलिट गरेका छन्।



