काठमाडौं-सुनसरीको बर्जु गाउँपालिका-१ मा ड्युटीमा खटिएका प्रहरीको हतियार लुट्ने समूह पक्राउ परेको छ।
सादा पोशाकमा खटिएका दुई जना प्रहरीमाथि आक्रमण गरी हतियार लुटपाट गरेको आरोपमा प्रहरीले सात जनालाई शनिबार पक्राउ गरेको हो।
मोरङ प्रहरीले हतियार लुटपाटमा संलग्नहरूलाई पक्राउ गरी आइतबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको हो।
पक्राउ पर्नेहरूमा सुनसरी दुहबी नगरपालिका-४ का ३२ वर्षीय नसुदिन मियाँ, ३० वर्षीय मोहम्मद अलिम मुर्तुजा, मोरङ बुढीगंगा गाउँपालिका-४ का ४० वर्षीय रिजवान मियाँ, भारत घर भई हाल दुहबी नगरपालिका-६ बस्न ४० वर्षीय मोहम्मद आलम, बुढीगंगा गाउँपालिका-५ का २१ वर्षीय मोहम्मद नजरूल मियाँ र सोही ठाउँका वर्ष २५ का सिजाम आलम रहेका छन्।
पक्राउ परेकामध्ये एक जना नाबालक रहेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले बताए।
पक्राउ परेकामध्ये बुढीगंगा गाउँपालिका-४ का रिजवान मियाँ उक्त लुटपाटका मुख्य योजनाकार रहेको दाहालले बताए।
यो समूहले सुनसरीको बर्जुमा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गरी शुक्रबार राति चाइनिज पेस्तोल र म्यागजिन लुटेको प्रहरीको भनाइ छ।
उक्त क्षेत्रमा हतियार देखाएर लुटपाट गर्ने समूह सक्रिय रहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट जवान बिमन परियार र प्रेम चौधरी खटिएका थिए। लुटेरा समूहले लगेको चाइनिज पेस्तोल र लुटेरासँग भएको एक थान कटुवा पेस्तोल बरामद गरिएको दाहालले बताए।
यो समूहले २० दिनमा ११ ठाउँमा शृंखलावद्ध रूपमा लुटपाट गर्दै हिँडेको प्रहरीको दाबी छ।
पक्राउ परेका रिजवान २०६४ देखि २०७९ सालसम्म १० वटा अपराधमा संलग्न रहेको दाहालले बताए।
उनी डाँका, ज्यान मार्ने उद्योग, चोरी, हात हतियार तथा खर खजनालगायतका मुद्दामा पटक-पटक जेल परेका व्यक्ति रहेको दाहालले बताए।
प्रहरीले उनीहरूको साथबाट चाइनिज पेस्तोल, कटुवा पेस्तोल, तीन थान रड, चक्कु दुई थान बरामद गरेको छ। यस्तै, दुई थान मोटरसाइकल, नगद एक लाख ७५ हजार २७५, भारु ११ हजार ६ सय रुपैयाँ बरामद भएको दाहालले बताए।
पक्राउ परेकाहरूलाई चोरी, लुटपाट, हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान थालिएको दाहालले बताए।


