डोल्पा- डोल्पा जिल्ला त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ खदाङस्थित भेरी नदीमामा एक जना पुरुषको शव भेटिएको छ।
अनुहार प्रष्ट नभएको र एउटा हात सग्लै भएको अवस्थामा एउटा शव फेला परेको डोल्पाका प्रमुख जिल्ला भूमिश्वर पोखरेलले जानकारी दिए। घडी र औँठी लगाएको अवस्थामा शव भेटिएको छ। शवको पहिचान हुन भने बाँकी रहेको उनको भनाइ छ।
उक्त शव १६ दिनदेखि सम्पर्कविहीन मेजर विमल पण्डितको हुन सक्ने आशंका गरिएको छ। घडी र औँठीका कारण पण्डितको शव हुन सक्ने आशंका गरिएको तर पोस्टमार्टम रिपोर्टपछि मात्र निश्चित हुने डोल्पा प्रहरीले बताएको छ।
शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल डोल्पा ल्याउन लागिएको प्रजिअ पोखरेलले जानकारी दिए।
डोल्पास्थित नन्द बक्स ब्यारेकमा कार्यरत ३८ वर्षीय मेजर पण्डित भदौ १० गते साँझपख ‘इभिनिङ वाक’ जानका लागि भन्दै गुल्मबाहिर निस्किएका थिए। त्यसपछि उनी सम्पर्कविहीन भएका छन्।


