काठमाडौँ- सुन तस्करीका लागि खडा गरिएको कम्पनी रेडी ट्रेडले ब्रेक प्याडबाट मात्र ३०२ किलो तस्करी भएको पाइएको छ। विभिन्न पटकमा उनीहरूले ब्रेक प्याडमा सुन ल्याएको पाइएकभो केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।
यसरी सुन तस्करी गर्ने रेडी ट्रेडविरुद्ध ३ अर्ब ५० करोड बिगो कायम गरेर अदालतमा मुद्दा दायर गर्न सरकारी वकिलको कार्यालय काठमाडौँलाई राय दिएको छ।
ब्युरोकी एआईजी किरण बज्राचार्यका अनुसार सुन तस्करीमा अन्तरदेशीय संगठित गिरोह सक्रिय रहेको देखिएको छ। नेपाली, भारतीय र चिनियाँ नागरिक संलग्न भएको अनुसन्धानले देखाएको उनको भनाइ छ।
‘त्यो दिन (साउन २ गते) बरामद भएको ६० किलोबाहेक रेडी ट्रेड कम्पनीको नाममा ३०२ किलो सुन पनि तस्करी भएको देखियो,’ उनले भनिन्, ‘३ अर्ब ५० करोड रुपैयाँ बिगो दाबीसहित प्रतिवेदन बुझाउँदै छौँ।’ यो प्रकरणको पूरक अनुसन्धान पनि जारी रहने उनले बताइन्। सीआईबीले तस्करी संलग्नहरूलाई ७ कसूरमा मुद्दा चलाउन मिल्ने प्रतिवेदनमा उल्लेख छ।
यो प्रकरणमा विदेशी र नेपाली गरी ५० जनालाई प्रतिवादी बनाउनुपर्ने राय सीआईबीको छ। प्रतिवादी बनाउनुपर्ने भनिएकामध्ये ३२ जना पक्राउ परेको समेत जानकारी दिइएको छ। १८ जना फरारहरूको भने खोजी भइरहेको सीआईबीले जनाएको छ। सुन तस्करीका लागि अभियुक्तले ५ वटा कम्पनी खडा गरेको देखिएको प्रहरीको भनाइ छ।
साउन २ गते रातको समयमा राजस्व अनुसन्धान विभागको टोलीले ठूलो परिणाम सुनसहित आएको भनिएको ब्रेक प्याड बरामद गरेको थियो। सुरुमा एक क्विन्टल सुन बरामद गरिएको भने पनि तौलँदा ६० किलो ७१६ ग्राम पुगेको थियो।


