काठमाडौँ- संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनप्रति शोक व्यक्त गर्दै संघीय संसदका दुवै सदनको बैठक समापन भएको छ। बिहीवार बसेको राष्ट्रियसभा र प्रतिनिधि सभा बैठकले नेम्वाङको निधनको शोक प्रस्ताव बैठकबाट सर्वसम्मतिले पारित भएको हो।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गहिरो शोक प्रकट गरेको बताए। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेम्वाङको निधनले सिंगो मुलुक स्तब्ध बनेको बताए।
दशकयता लोकतन्त्र र गणतन्त्रका लागि भएको आन्दोलनमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गरेका नेम्वाङले संविधानसभा मार्फत नेपालको संविधान बनाउन नेतृत्वदायी भूमिका खेलेका उनले बताए।
नेम्वाङ नेकपा एमाले पार्टीको तर्फबाट २०४८ र २०५२ मा राष्ट्रिय सभा सदस्य, २०५६ मा प्रतिनिधि सभा सदस्य, २०६३ मा पुनःस्थापित प्रतिनिधि सभा सदस्य र व्यवस्थापिक संसद सदस्य, २०७२ मा रुपान्तरित व्यवस्थापिक संसद सदस्य, २०७४ र २०७९ मा संघीय संसदअन्तर्गतको प्रतिनिधि सभा सदस्य थिए।
भदौ २६ गते नेम्वाङको निधन भएको थियो। उनलाई सरकारले राष्ट्रिय सम्मान व्यक्त गरेको छ। नेम्वाङको निधनमा बिहीबार सरकारले सार्वजनिक बिदा दिएको छ।
