काठमाडौँ- कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मन्त्रीहरूसँग छलफल गरेका छन्। रक्षा मन्त्रालयमा सोमबार सबै मन्त्रीहरूसँग छलफल गर्दै कार्यबाहक प्रधानमन्त्री खड्काले आ-आफ्नो मन्त्रालयको काम जनतालाई सन्तुष्ट हुने गरी कार्यसम्पादन गर्न सबै लाग्नुपर्ने कुरामा जोड दिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विदेश भ्रमणमा रहेका बेला कार्यबाहक प्रधानमन्त्री खड्काले जनतासँग जोडिएका र सेवाप्रवाहका काममा कुनै गुनासो आउन नदिने गरी काम गर्न निर्देशन दिए।
संविधान दिवसका कार्यक्रमका विषयमा पनि मन्त्रीहरूबीच छलफल भएको थियो। सडक सुधार तथा सुरक्षालाई थप प्रभावकारी बनाउन तत्काल कार्ययोजना बनाई महत्त्वका साथ सरकारले लाग्नुपर्नेमा कार्यबाहक प्रधानमन्त्री खड्काले जोड दिए।
छलफलमा सहभागी उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतले नागरिकको दैनिकीसँग जोडिएका शान्ति-सुरक्षालगायत बजारको आपूर्ति व्यवस्थाबारे आ-आफ्नो मन्त्रालयबाट हुने काममा कुनै कसर बाँकी नराख्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका थिए।


