काठमाडौँ- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले सुर्खेतको चौकुनेमा सिमेन्ट उद्योग स्थापनाका सम्बन्धमा मंगलबार मन्त्रालयमा छलफल गरेका छन्।
उद्योगपति अजय सुमार्गीको कम्पनी मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिजले एक दशक अगाडिदेखि इजाजत अनुमतिपत्र लिए पनि हालसम्म उद्योग स्थापना गर्न नसकेपछि त्यसको कारण मन्त्री रिजालले खोजी गरेका हुन्।
मन्त्री रिजालले मन्त्रालयमा उद्योगपति र सरोकारवालालाई बोलाएका थिए।
उद्योगपति सुमार्गीले भने आफूले वैदेशिक लगानी भित्र्याई उद्योग सञ्चालन गर्न खोजे पनि नेपाल सरकार र नेपाल राष्ट्र बैंकबाट आफूलाई असहयोग भइरहेको गुनासो गरे।
सुर्खेत जिल्ला निर्वाचन क्षेत्र नं २ का सांसद हृदयराम थानीले दशक अघिदेखि लाइसेन्स लिएको उद्योग तत्काल सञ्चालन गर्न मुक्तिश्री सिमेन्ट इण्डस्ट्रिज र सरकार दुवै पक्षले पहल गर्नुपर्ने बताए।
सांसद थानीले मुक्तिश्री सिमेन्टले उद्योग सञ्चालन गर्न नसक्ने हो भने अन्य विकल्प खोज्न समेत ढिलो गर्न नहुने सुझाव दिए।
छलफलमा मन्त्री रिजालले उद्योगपतिहरूलाई असयोग गर्ने सरकारको कुनै अभिप्राय नभएको बताका थिए।
‘उद्योगपतिहरूलाई लगानीको वातावरण बनाईदिनु पर्छ भन्ने सोचले सरकार अघि बढिरहेको छ। औद्योगिक लगानी प्रवर्द्धनको लागि सरकारले हरदम पहल गरिरहेको छ,’ उनले भने।
मन्त्री रिजालले सिमेन्ट उद्योग सञ्चालन गर्नमा के-के कुराहरू बाधक हुन बुझेर तत्काल कानुन बमोजिम सकारात्मक पहल गर्न मातहतका अधिकारीहरूलाई निर्देशन दिए।
छलफल कार्यक्रममा सुर्खेत जिल्ला निर्वाचन क्षेत्र नं २ का सांसद हृदयराम थानी, राष्ट्रियसभा सदस्य नरबहादुर विष्ट लगायत मन्त्रालयका सचिव, सहसचिवहरू, उद्योग विभागका महानिर्देशक, खानी विभागका महानिर्देशक लगायतको उपस्थिति रहेको थियो।


