काठमाडौँ- आगामी दसैँअघि काठमाडौँ उपत्यकाका केही सडकखण्ड मर्मत गर्ने तयारी सरकारले गरेको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले काठमाडौँभित्र सडकको मर्मत दसैँअघि नै गर्न निर्देशन दिएपछि काम अघि बढाउन लागिएको हो।
काठमाडौँ उपत्यकाभित्र सडक विभागअन्तर्गगत सडक डिभिजन कार्यालय र काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले पनि सडकका खाल्डाखुल्डी पुर्ने काम गरिरहेको छ।
काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाअन्तर्गत पर्ने करिब ३५ किलोमिटर सडकको मर्मत तथा खाल्डाखुल्डी पुर्ने काम अघि बढिसकेको छ।
ठेकेदारहरुलाई दसैँअघि नै सडक मर्मत गर्नु भनेर पत्र काटिसकिएको आयोजना प्रमुख कृष्णनाथ ओझाले बताए।
‘दसैँअघि नै सडक मर्मत गर्न आयोजना कार्यालयले पत्र पठाइसकेका छौं। ठेकेदारले गर्दैछन्,’ उनले बताए।
खासगरी, यातायात सञ्चालन भइरहेका सडकहरुको मर्मत ठेकेदार स्वयंमबाट गराउने आयोजनाले जनाएको छ।
‘ती सडक मर्मतमा हाम्रोतर्फबाट बजेट खर्च हुँदैन, ठेकेदारको दायित्व भएकाले उसले नै मर्मत गर्ने हो। बिग्रेको सडक उसैले बनाउने हो,’ उनले बताए।
उनका अनुसार, कलंकी–नागढुंगा, जोरपाटी–साँखु, नख्खु–बुंमती, इमाडोल–लुभु र जोरपाटी–सुन्दरीजल सडकखण्ड मर्मत हुनेछ।
ठेकेदारको दायित्व भएकाले ती सडकको बीचबीचको खाल्डो पुर्ने र मर्मत गर्ने काम हुनेछ।
ठेकेदारले भने कालोपत्रे गर्नुअघि चाहिने सामग्री बजारमा नपाइएको गुनासो गरिरहेका छन्।
यता, सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालय काठमाडौँले पनि काठमाडौँभित्रका विभिन्न सडकको मर्मत सम्भार गर्ने काम अघि बढाएको छ।
खासगरी, बागमती करिडोर, विष्णुमति करिडोर, माइतीघर कोटेश्वर सडक, चाबहिल कोटेश्वर, बालाजु बसपार्क, कलंकी बालाजु, त्रिपुरेश्वर कलंकीलगायतका स्थानका सडक काठमाडौँ डिभिजन कार्यालयले हेर्छ।
ती सडकहरुका खाल्डाखुल्डी दसैँअघि पुरिसक्ने गरी काम भइरहेको सडक डिभिजन काठमाडौँका प्रमुख नारायणदत्त भण्डारीले बताए।
‘साढे ४ सय किलोमिटर सडक आफ्नो क्षेत्रभित्र रहेको र उक्त खण्डका खाल्डाखुल्डी पुर्ने योजना छ,’ उनले बताए।
मर्मतकै लागि छुट्टै बजेट नभए पनि भइरहेको बजेटबाट सडकको मर्मत र खाल्डाखुल्डी पुर्ने काम दसैँअघि नै हुने उनले बताए।
‘मुख्यमुख्य सडकहरुको खाल्डाखुल्डी पुर्ने काम छ। कतिपय ठाउँमा विद्युत् प्राधिकरण, केयूकेएल र टेलिकमले सडक खनेर ध्वस्त पारिदिएका छन्,’ उनले बताए।
ती सडकखण्डहरुको सडक मर्मत चाहेर पनि गर्न नसकिएको उनले बताए। तीबाहेकका सडकको मर्मत दसैँअघि नै गरिसक्ने उनको भनाइ छ।


