काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियमको पदार्थको मूल्य घटाएको छ। सोमबारको निगम सञ्चालक समिति बैठकले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने निर्णय गरेको हो। भारतीय आयल कर्पोरेसन (आईओसी)ले अप्रिल १ मा निगमलाई मूल्य घटाएर पठाएको थियो।
मट्टीतेल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ तथा पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ घटाउने निर्णय भएको निमगले जानकारी गराएको छ। सोमबार राति १२ बजेदेखि समायोजित मूल्य लागू हुनेछ।
अब पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १७५ र डिजेल/मट्टीतेलको मूल्य १६५ रुपैयाँ पर्नेछ।
आन्तरिक र अन्तर्राष्ट्रिय दुवै खाले हवाइ इन्धनमा प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय भएको निगमले सूचित गराएको छ।
आईओसीलाई बुझाउनुपर्ने बक्यौता र सरकारलाई तिर्नुपर्ने ऋणका कारण निगमले मूल्य समायोजन गर्न आनाकानी गर्दै आएको थियो। आइओसीको बक्यौता र सरकारी ऋणसहित अहिले निगमलाई करिब १४ अर्ब दायित्व रहेको निगमले बताउँदै आएको छ।


