काठमाडौँ- खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ल्याउने चिनी तिहारपछि मात्र आउने भएपछि बजारमा चिनीको हाहाकार भएको छ।
कम्पनीले खरिद प्रक्रिया अघि बढाएर दशैंअघि नै चिनी भित्र्याउने योजना बनाए पनि तिहारपछि मात्र चिनी आउने जानकारी दिएको हो।
दसैँका बेला देशभर चिनीको हाहाकार छ। कम्पनीले सार्वजनिक खरिद प्रक्रियाअनुसार चिनी ल्याउन अत्यन्त ढिलाइ गर्दा आम उपभोक्ताले दसैँमा चिनी किन्न नपाएको गुनासो गर्न थालेका छन्।
सरकारी स्वामित्वको उक्त कम्पनीले दसैँअघि नै चिनी खरिद नगर्दा चाडपर्वलक्षित सुपथ मूल्य पसलमा उपभोक्ताले चिनी पाएका छैनन्।
काठमाडौँको नयाँ बानेश्वरमा किराना पसल चलाउँदै आएकी धनमाया श्रेष्ठको पसलमा चिनी सकिएको साता दिनभन्दा बढी भइसकेको छ।
आफूले खानका लागि राखेको चिनीसमेत सकिएको उनले बताइन्। ‘चिनी छैन। चिनी ल्याउनका लागि कति प्रयास गर्दा पनि मैले पाउन सकिरहेकी छैन,’ उनले भनिन्, ‘अब चिनी आए पनि महँगिएर आउने निश्चित छ। एक हप्ता भन्दा बढी भइसक्यो। चिनी किन्न पनि पाइएन। बेच्ने त कुरै छोडौँ।’
खाद्य कम्पनीले १० हजार मेट्रिक टन चिनीको ढिलो गरी खरिद प्रक्रिया अघि बढाउँदा पनि चिनीको अभाव भएको हो।
कम्पनीले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमा २ दिनमै चिनी सकिएको थियो।
सार्वजनिक खरिद विधि र प्रक्रिया अवलम्बन गर्दै चिनी खरिद गर्नुपर्ने हुँदा पनि चिनी आयातमा ढिलाई भएको कम्पनीका सुचना अधिकारी शर्मिला सुवेदी न्यौपानेले बताइन्।
खरिद प्रक्रियामै रहेकाले दशैं र तिहारमा चिनी आउने सम्भावना नभएको उनले बताइन्। तिहारपछि भने खरिद गरिएको चिनी आइपुग्ने उनी बताउँछिन्।
‘सरकारी कम्पनी भएकाले सम्पूर्ण सार्वजनिक खरिद प्रक्रिया अवलम्बन गर्नु पर्छ। साल्टले जस्तो छिटोछरितो रुपमा चिनी आपूर्ति गर्न सकिँदैन,’ उनले भनिन्, ‘कम्पनीको चिनी तिहार पछि मात्रै आउने सम्भावना देखियो।’
साल्टले पत्याएन सरकारी कम्पनीलाई
सार्वजनिक खरिद प्रक्रियाअनुसार खाद्य कम्पनीको चिनी नआए पनि साल्टले भने चिनी बिक्री आफ्नो ढंगले गरिरहेको छ।
त्यो भन्दा पनि यसअघि कुलेश्वरको एक गोदाममा लेबल नलगाएको ७० हजार किलो चिनी वाणिज्यले जरिमाना गरी उपभोग गर्न अनुमति दिएसँगै साल्टले उक्त चिनी बेचिरहेको छ।
आफ्नो केही र उक्त परिमाणको चिनी सँगै साल्टले आफ्ना सहुलियत पसलहरुबाट प्रतिव्यत्ति २ केजीका दरले चिनी बिक्रि गरिरहेको छ। तर, साल्टले सरकारी स्वामित्वको खाद्य कम्पनीलाई कुनै पनि चिनी दिन चाहेको छैन। उसले आफूले खरिद गर्ने चिनी पनि नदिने पक्का छ।
खाद्य कम्पनीका उच्च कर्मचारी भने साल्टबाट समन्वय गरेर चिनी ल्याइ सहुलियत पसलमा बेच्ने दाउँमा छन्। तर, साल्टले हत्तपत्त पत्याउने देखिँदैन। किनकि, चिनीको अभाव भएका बेला निजी कम्पनीको ठूलो स्वामित्व रहेको कम्पनीले सरकारी कम्पनीलाई चिनी सापटी दिने कुरामा आशंका छ।


