काठमाडौं- एसियाली विकास बैंकले ‘एसियन डेभलपमेन्ट आउटलुक’ प्रकाशन गर्दै चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ। गत आर्थिक वर्ष ५.८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको नेपालले चालु आर्थिक वर्षमा आर्थिक वृद्धि ४.१ प्रतिशत मात्रै सिमित हुने दाबी एसियाली विकास बैंककाे छ। गत आर्थिक वर्षको बार्षिक बजेट र मौद्रिक नीति मार्फत गरिएको आर्थिक प्रोत्साहनका कारण उक्त वृद्धिदर हासिल भएको एडीबीले जनाएको छ।
तर, चालु आर्थिक वर्षमा विदेशी मुद्रा संचितिमा परेको दबाब रहेको भन्दै राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको कडाईका कारण आर्थिक वृद्धिदरमा कमी आएको एसियाली विकास बैकको प्रतिवेदनमा उल्लेख गरेको छ।
मौद्रिक नीतिमा गरिएको कडाईका कारण आयातमा आएको कमी र विप्रेषण आप्रवाहमा बढ्दा चालु खाता घाटामा भने सुधार आएको बैंकले उल्लेख गरेको छ। जसले शोधनान्तरस्थिति बचतमा रहेको छ भने विदेशी सञ्चितिमाथिको चाप पनि कम हुँदै गएको छ।
यद्यपि अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार भएपनि तरलता अभाव, उच्च ब्याजदर र आयातमा आएको कमीले समर्ग मागमा कमी ल्याउँदा अर्थतन्त्र संकुचति भई आर्थिक वृद्धिदरमा असर गरेको एडीवीले जनाएको छ। आयातमा आएको कमीका कारण सरकारी राजस्वमा कमी र मूल्यवृद्धि उच्च हुने प्रक्षेपण समेत बैंकको छ।
अन्तर्राष्ट्रियस्तरमा भइरहेको मूल्यवृद्धि तथा आर्थिक मन्दीको असर नेपालको व्यापार तथा पर्यटन क्षेत्रमा परेकाले पनि आर्थिक वृद्धिदर ४.१ प्रतिशतमा सिमित हुने प्रक्षेपण एडीवीले गरेको हो।
चालु आर्थिक वर्षको बजेट मार्फत सरकारले ८.५ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने लक्ष्य राखेको छ। यद्यपी पूर्वअर्थमन्त्री बिष्णुप्रसाद पौडेलले उक्त लक्ष्य हासिल नहुने भन्दै बजेटको अर्धवार्षिक समिक्षा गरेका छन्। राष्ट्रिय योजना आयोगले ४.२ प्रतिशत मात्रै आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण यसअघि नै गरिसकेको छ।


