काठमाडौं- एभरेष्ट बैंकले आफ्नोे २९ औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा बैंकले प्रधान कार्यालयमा २५ वर्ष भन्दा बढी सेवा गर्ने कर्मचारीहरुलाई सम्मान तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु आयोजना गरेको हो ।
बैंकका २०० भन्दा बढी कर्मचारीहरुकाबीच सम्पन्न उक्त कार्यक्रममा बैंकले सेवा अवधिको २५ वर्ष पूरा गरेका २८ जना कर्मचारीहरुलाई बैंकका प्रमुखकार्यकारी अधिकृत सुदेश खालिङले सम्मान गरे । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोपिला भ्याली सेवा समाज सुर्खेतलाई रु. पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकका नायब महाप्रबन्धक केशव प्रसाद पौडेलले कोपिला भ्याली सेवा समाज सुर्खेतको तर्फबाट बिल्ङक नाउ फाउण्डेशनका राष्ट्रिय प्रतिनिधि डा. एसपी कलौनीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।

सो कार्यक्रममा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राजउप्रेती र बजार अधिकृत एलिना कार्की तथा बिल्ङक नाउ फाउण्डेसनका तर्फबाट साझेदारी प्रबन्धक अस्रिना रंजितको समेत उपस्थिति रहेको थियो ।
पञ्जाब नेशनल बैंक भारत सँग संयुक्त साझेदार रहेको यस बैंक स्थापनाकाल देखि नै ग्राहकहरुको पहिलो रोजाइमा पर्दै आएको छ। बैंकमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२७ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६२ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेटर एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।


